Jump to content

basantakg

Members
  • Content Count

    5
  • Joined

  • Last visited

Community Reputation

0 Neutral

About basantakg

  • Rank
    Newbie
  • Birthday 01/10/1967

Contact Methods

  • ICQ
    0
  • Website URL
    http://

Previous Fields

  • First Name:
    Basanta Kumar
  • Gender:
    Male
  • Web site:
    http://gautambasanta.blogspot.com
  • Place of Birth:
    Kathmandu
  • Town/City:
    Kasugai, Japan
  • Subject:
    High Voltage Insulators
  • Current University/College:
    Chubu University, Kasugai, Japan
  • District:
    Kathmandu
  • Village/Town:
    Naikap
  • High School:
    Vidya Mandir
  • Surname:
    Gautam
  1. basantakg

    Ghazal

    यो मुटु तिम्रै, चाहे सेरे हुन्छ या टापू यो, मायाले घेरे हुन्छ, आज नसोध माया गर्छस् भनी सोझै ती अँगालोमा बेरे हुन्छ, मुखको भाखा कच्चा मेरो, के भो! दुई आँखाको भाव हेरे हुन्छ, छातीमा लुकेर, कहिलेकाँही आँखा-आँखैले साटो फेरे हुन्छ, सपनीमा बर्बराऊँछु रे म चाहेमा रातभरि केरे हुन्छ।
  2. "कुरुप वर्तमान"-१ जताततै हनुमानहरु दौडिरहेछन् पूच्छरमा आगोको लप्का बोकेर चाकडीको विनाकारण जलाउँदै सुनका लंकाहरु, स्वचालित वेहोश हातमा बजिरहेछ डमरु मस्त धङ्धङेमा रमाएर हेर्दैछन प्रभुहरु र अनियन्त्रित नाचिरहेछन् बाँदर टुकडीहरु ; रंगीचंगी नाराका खोल ओढेर अवसरको खेती गरिरहेछन् आत्माहीन दासहरु, र एक बाली भित्र्याई डकारेर नयाँ फसलको तयारीमा रंग फेरिरहरछन् छेपाराहरु । "कुरुप वर्तमान"-२ रगतको आहालमा डुबेका छन् हिमालहरु डढेको जंगलबाट षडयन्त्रको गन्ध आईरहेछ र ठाऊँ ठाऊँमा उम्रन थालेका छन् तावेदारीका नयाँ झारहरु ; भित्र बैठकमा, हिसाब नमिलेर होला भागबण्डाको- लूटेराहरु एक आपसमा औँला ठड्याईरहेछन् र बाहिर, 'जिन्दाबाद', 'मूर्दाबाद' उचालीरहेका सडकहरुमा भविष्यको पदचाप सुनिदैन
  3. basantakg

    कुँडो

    “कुँडो” “ए----! ढिलो पो भईसकेछ!” घडी हेरेर ओमे गुन्गुनायो र झोला बोकेर दौडियो। सबैलाई थाहा भएको नियमित साप्ताहिक घटना भएकोले ल्याबका जापानी केटाहरुले खासै ध्यान दिएनन्। असाध्यै भोक लागे पनि पाउरोटी टोक्ने फूर्सद पनि पाएन उसले। ‘तीन मिनेट पनि बाँकी छैन, ढिला पुगिएला जस्तो छ, आज रिसाउनी भ’ साला खप्परे!’ स्वाँ-स्वाँ र फ्वाँ-फ्वाँ गर्दै उ पुस्तकालयमा पुग्दा अरु सबै भेला भईसकेका रहेछन् तर उ पनि खप्परेले ध्यानै दिने गरी ढिलो भने पुगेन, ठीकै भो। हुनत आज शुक्रबार हो, सप्ताहन्तको साँझ रमाईलो गर्नुपर्ने हो तर यो सेमेष्टर ओमेको सप्ताहन्त छैन भने पनि हुन्छ। उसले डेढ वर्ष पहिलेनै निवेदन हालेको थियो पुस्तकालयमा काम गर्नको लागि, तर अहिले आएर मात्रै मिलेको थियो हप्ताको एक दिन, शुक्रबारको लागि, दिउँसो चारबाट बेलुका नौ बजेसम्मको। भेटेको काम छोड्ने कुरो भएन, ‘बरु शनिबार-आईतबारको बाइतो अलिक कम गर्नुपर्ला।‘ भन्ने सोचेर पुस्तकालयको काम शुरु गरेको थियो उसले। पुस्तकालयको कर्मचारी खप्परे (खास नाम त माचीमुरा हो क्या रे!) पुस्तकालयमा पार्ट-टाइम काम गर्ने विद्यार्थीहरुको सुपरभाइजर थियो। खप्परेले सबैलाई काम बाँडफाँड गरिदियो। ओमे दोश्रो तल्लातिर लाग्यो, फिर्ता आएका किताबहरुले भरिएको ट्रली गुडाऊँदै। किताब आफ्नै सूरले बिस्तारै मिलाएर उ पहिलो तल्लामा फर्किँदा झण्डै छ बजिसकेको थियो। अब दुई घण्टा यहिँ थियो उस्को पालो। किताब इस्यू गर्ने काउण्टरमा बस्यो उ। किताब फिर्ता लिने पट्टि एउटा जापानी केटो थियो। अघिल्ला हप्ताहरुमा देखेको थिएन ओमेले उस्लाई। अरु कुनै दिनको होला, कसैसंग काम साटेको होला आजको लागि। एक घण्टा जति पछि अलिक होलो भयो। जापानी केटाले उतिर हेरेर टाउको झुकायो, ओमेले पनि प्रत्युत्तरमा टाउको झुकायो। ओमे नेपाली हो भन्ने थाहा रहेछ त्यसलाई। केटोको नाम आओकी रे। एकछिन आ-आफ्नो पढाईको कुरो भयो। “कहाँ बस्छौ तिमी?” आओकीले सोध्यो। “नजिकै छ, हिँडेर जाँदा पनि दश मिनेटमात्रै लाग्छ।“ “अनि खाना के गर्छौ नि? आफैं बनाउँछौ?” एक छिन पछि फेरि कुरो उप्कायो आओकीले। “विहान त यतै कलेजतिरै खान्छु, तर बेलुका भने आफैं बनाउँछु।“ नियमित प्रश्नको नियमित उत्तर दियो ओमेले। एकछिन आफैँ पकाएर खाँदा सस्तो पर्ने कुरा, नजिकका सुपरमार्केटहरुमा सामानको भाउको कुरा, आदि अरु नियमित कुराहरु भए। “तिम्ले बना’को नेपाली खाना खुब मिठो हुन्छ होला है!?” जापानीले फेरि कुरा शुरु ग-यो। “अँ---, मिठ-मिठै हुन्छ।“ ओमेले जवाफ दियो अक्मकिएर। ओमेलाई खाना बनाउन खासै आऊँदैन, साँच्ची भन्ने हो भने उसले पकाउन जानेको भनेको कुँडो मात्रै हो। ओमेहरुको भाषामा यो कुँडो भनेको गाईवस्तुलाई खुवाउने कुँडो नभएर उनीहरुले पकाउने झोल हालेको तरकारी हो। प्याज, डीप फ्रीजको कुखुराको मासु र आलु भुटेर त्यसमा मसला-नून-अदुवा-लसुन-गोलभेंडा र चाहिनेजति पानी राखेर छड्काएपछि साधारण कुँडो तयार हुन्छ। थप्न मन लागे पालुंगोको दुई-चार पात अथवा ब्रोकाउली-काउलीका दुई-चार टुक्रा थपेपनि भो। ओमेहरुको जमातमा कुँडो लोकप्रिय छ, किनभने दाल र तरकारी एकै खेपमा तयार हुन्छ। भोक लागेको बेलामा कुँडो सम्झिनाले ओमेको भोक दुईगुना भयो। कतिखेर काम सकिएला र कोठामा पुगेर कुँडो बनाएर खाउँला भनेर थुक निल्न थाल्यो उ। तर काम सकिन अझै एक घण्टा भन्दा बढी बाँकी थियो। बटारिएका आन्द्रा र कुँडो सम्झेर रसाएको मुखलाई सहेर नौ बजेसम्म बस्नुको विकल्प थिएन उसंग। आठ बजेपछि तेश्रो तल्लाको काउण्टरमा बस्ने पालो प-यो उस्को। तेश्रो तल्ला अँग्रेजी पुस्तक-पत्रिकाहरुको तल्ला भएकोले दिउँसो पनि खासै भिड हुँदैनथ्यो, अहिले साँझमा त कोहि पनि थिएन। विशाल हलको ओल्लो छेउ देखि पल्लो छेउसम्मको सूनसानले उस्को भोक र कुँडोको चाहना लाई अझ बढायो। इण्टरनेटमा बसेर समय बिताउन सकिन्छ कि भनेर पनि कोशिश ग-यो उसले, तर इण्टरनेटमा झन झर्को लाग्यो उस्लाई यतिखेर। कम्प्यूटरबाट उठेर पानी खायो र हललाई एक छेउ देखि अर्को छेउ सम्म नाप्न थाल्यो। ‘कुँडो अलि धेरैनै पकाउँछु आज।‘ उ टहल्दै, गम्दै थियो। ‘गोलभेंडा त छ, पालुंगो छैन कि, पालुंगो रैनछ भने मसिनो च्याउ छ, आज कुँडोमा च्याउ पनि हाल्दिन्छु। जाँदाखेरि दुई-तीन क्यान बियर पनि लानुपर्छ कि क्या हो! फिट्टू भ’र भोलि बिहान दश बजेसम्म सुत्छु अनि।------ तर बियर लिन त दश मिनेट नहिँडी हुन्न नजिकको कन्बिनिसम्म पुग्न, के गर्नी होला---? ----‘ बल्ल-बल्ल नौ बज्यो। यताउता गरेर पुस्तकालयबाट उ निस्कँदा सवा नौ भईसकेको थियो। कन्बिनी पुगेर बियरको एउटा सानो केसनै किन्यो उसले, पछिलाई पनि हुन्छ भनेर। कोठामा आईपुग्दा दश बजिसकेको थियो। ढोकाबाट पस्नासाथ भान्छा थियो उसको। भान्छा भन्दा उता सुत्ने कोठा। यो सुत्ने कोठामा एउटा टेबुल थियो, त्यो टेबुलको कारणले गर्दा यो कोठा खाने कोठा पनि भएको थियो। उ भान्छाको बत्ती पनि नबाली फ्रीजमाथिको एउटा प्लाष्टिकको बट्टा टिपेर सोझै कोठातिर लाग्यो। टेबुलमाथि एउटा पत्रिकाको टुक्रो ओछ्यायो र बट्टाको दालमोठ-चिउरा स्वार्र्—पारेर खनायो, आधा माना जति। अनि एक फाँको दालमोठ-चिउरा मुखमा हालेर बियरको एउटा क्यान खोल्यो र लगभग एक तिहाई जति घुट्क्यायो। यति ईन्धन हालिसकेपछि उ कुँडो पकाउन कस्सिएर शर्टको बाहुला सार्दै भान्छातिर लाग्यो। “थुक्क----! धत्तेरिका स्-----स्साला!” भान्छाको बत्ती बल्नु र उ कराउनु एकैचोटि जस्तो भयो। वाश-वेसीनमा टन्न जूठा भाँडाहरु थिए। बल्ल याद आयो उस्लाई, यी भाँडाहरु सोमबार रातिदेखिकै हुन्। मंगलवार एउटा काम परेर वानागो गएको थियो र फर्किँदा रेलमै बेन्तो किनेर खाएको थियो। अस्ति राती कप-रामेन खाएको थियो र ल्याबमै सुतेको थियो। हिजो चन्द्रेको कोठामा सुतेर आज त्यतैबाट कलेज गएको थियो। ------------------- ओमेले यो सप्ताहान्त पनि चाउचाउ-अण्डाले मनायो। ******************************************************* यो कथामा प्रयोग गरिएका जापानी शब्दहरु: बाइतो: पार्ट-टाईम काम बेन्तो: लञ्च बक्स कन्बिनि: convenience store को प्रचलित जापानी लोकबोली वानागो: काल्पनिक शहर कप-रामेन: डिष्पोजेवल कपमा हुने तयारी चाउचाउ (त्यहि कपमा तातो पानी हालेर चाउचाउ खाए हुने, बनाउने छुट्टै भाँडो नचाहिने)
  4. कथा पढेर हौसला र प्रशंशा दिनुहुने सबै साथीहरुलाई धेरै धेरै धन्यवाद।
  5. बाँसको पैसा "नमस्कार हाकीम सा’प!” कमीज-सुरुवाल-इष्टकोटको परिधानमा आएका एकजना बूढा बा भित्र पसे। “नमस्कार!” गर्मीमा उँघिरहेको हुनाले बूढाको बोलीले नगरपालिकाको हाकीम अलि झस्किएझैं भयो। “भन्नुस् के कुरा हो?” आँखा पनि नऊघारी हाकिम बोल्यो। “हजुर म---- !“ बूढा अलि अक्मकाए, “मेरो बाँस---!” “ए तपाईँ फेरि आउनु भो!?” त्यतिखेरसम्म हाकीमले आँखा खोलिसकेको थियो। “कति चोटि भन्ने मैले तपाईँलाई, दिन मिल्दैन भनेर? तपाईँका बाँस कल्ले ल्यायो, हाम्लाई के थाहा? लानेसंग केहि कागत-सागत मागेर राख्नुपर्दैन? त्यसै पैसो पाईन्छ? जानुस्, अब फेरि आउने हैन यहाँ----“ हाकिम झर्कियो र टेबुलको पत्रिका तानेर पढ्न थाल्यो। “हैन हजुर, नगरपालिकाले दिन्छ भनेका थे लानेले।“ “फेरि त्यहि कुरा! ‘भनेका थे’ भन्दैमा हुन्छ? जिविसमा जानुस्, उनीहरुले दिन्छन् कि?” “ग’को हो हजुर, त्याँ त झन अफिसै बन्द-----“ “अब के गर्ने त?” बूढाको कुरालाई बीचमै काटेर हाकीम करायो अलि ठूलै स्वरले। “यहाँ बाट दिन मिल्दैन, जल्ले लगेको हो, उसैकाँ जानुस्।“ हाकीम कुर्सीबाट जुरुक्क उठ्यो, कोट तन्याकतुनुक पा-यो, कुर्सीमा राखेको चकटी मिलायो र फेरि पत्रिका तानेर बस्यो। अँध्यारो मुख लगाएर ‍‍‍धुर्वलाल बूढा बाहिर निक्ले। “दिएन बाजे?” नगरपालिकाको गेटनीर पीउनले सोध्यो। “दिएन, दिएन। गरीबको पैसो खाए पापीले--- !” बूढालाई कुरा गर्ने मन पटक्कै नभएको थाहा हुन्थ्यो, उनको बोलीबाट। अलिक मास्तिर एउटा चिया पसल थियो, बूढा पसलको एउटा कुनामा गएर बसे र गम्दै चिया पिउन थाले। बूढाको घर नगरपालिकाको छिमेकी गाऊँमा पर्छ। अब नगरपालिका पनि भन्नुमात्रै हो, उनको गाऊँ जत्तिको पनि छैन। उनकी जेठी छोरीको बिहे भो, तीन भाइ छोरा छुट्टिएर अलग बसे, उनी र बूढी बसेका छन्। बूढीलाई मुटुले दुख दिन थालेको दुई बर्खजति भो। छ-छ महिनामा काठमाडौँ लगेर निकै महँगो ओखती गर्नु पर्छ। त्यसकै भरमा धानिएकी छिन् रे अहिलेसम्म बूढी, डाक्टरले त्यसै भन्थे। बैशाख सकिँदा लानु पर्ने हो यस पालि, पैसाको ब्यबश्था हुन नसक्दा जेठको पनि आधी हुन आँटी सक्यो लान सकेका छैनन्। चैत लाग्दा-लाग्दाको कुरो हो। बूढा-बूढी खाना खाईसकेर पीँढीमा बसेका थिए। “क्या हो काका, बाँस कतिमा बेचियो त?” माथ्ला गाऊँको हरिनारान कता जाँदै रहेछ, बाटैबाट करायो। “के कुरा गर्छ यो? गाहकी भेटिएकै छैनन्, काँ’ट बाँस बेच्नु नि!” “बाँस काटिराख्या आवाज जस्तो लाग्या थ्यो त मलाई! मान्छेको हल्लाखल्ला पनि सुनेजस्तो लाग्यो। म त तिम्ले बाँस बेचिसकेछौ भन्ठानेर हेर्दै नहेरी आएँ। गईहाल, फेरि सप्पै लगिसक्लान्”। बोल्दा बोल्दै हरिनारान धुर्बलाल बूढाको आँगन कटेर बाटो लाग्यो। “हे दैव, को चोर पस्यो फेरि?-----“ थामको किलामा झुण्ड्याएको टोपी टाउकोमा हालेर बूढा निक्ले। “तँ नआईज, -----“ बूढी पनि पछि लाग्न खोज्दै थिन् बूढाले रोके। मज्जाले सप्रेको बाँसघारी थियो बूढाको। धेरै दु:ख गरेर हुर्काएका थिए यो बाँसघारी बूढा-बूढीले।। ‘सात हजार त नाची नाची मोलेर दिन्छ गाहकीले’, भन्थे सबैले। सात हजार नआएर छ हजारमात्रै आईदिए पनि बूढाको धेरै ब्यबहार मिल्ने थियो। सबभन्दा ठूलो त डाक्टरले बोलाएकै बेलामा बूढीलाई काठमाण्डु लगेर उपचार गर्न सकिन्थ्यो। बाँकी बचेकोले पाँच-सात महिनैको नून-तेलमा भरथेग हुन्थ्यो। तर ऐले बाँस चोरी हुन लागेको सुनेपछि बूढाका जीउबाट पसिना छुट्न थालेका थिए। “हैन त्याँ बाँस काट्नी को हँ?----- तिम्लाई साईँध्वा हो, मैले जान्या छु!” बूढा कराऊँदै डिलबाट बाँसघारीतिर ओरालो हान्निए। पहिला त बूढाले ठम्याइहाल्न सकेनन्, नजिकै पुग्दा देखे उनको बाँसघारीमा हरिया बर्दी लगाएका सिपाहीहरु थिए, दश बाह्र जना। तीमध्ये आधा जसो भकाभक बाँस ढालिरहेका थिए, आधा बन्दूके भने पल्याक-पुलुक वरिपरि हेर्दै घुमिरहेका थिए। “सवारीमा लान काट्या हो बाँस बाजे, तिम्रा बाँसका’ नी दिन आए---!” यौटा रिकुटेले बूढालाई हियाएजस्तो गरेर बोल्यो। खोलापारी टुँडिखेलमा राजाको सवारी हुने कुरो हिजो माईकले फुक्दै हिँडेको सुनेका थिए उनले पनि। “सोधखोज मोलतोलै नगरी यसरी अर्काको बाँस काट्दिनु त भएन नी हजुर!” बन्दूके धेरै देखेर बूढा अलि हच्किएर नरम स्वरमा कुरा गर्न थाले। “बजारभरि राजाको सवारीको गेट बनाउन, मञ्च बनाउन लानी हो, किन सोध्नु प-यो?” अर्को रिकुटे कड्कियो। बूढालाई झनक्क रिस उठ्यो। “बरु मलाई मार, तर म यो बाँस लान दिन्न! -----“ बूढा लडाएर थुपारेको बाँसको चाङमाथि गएर पसारो परे। बूढा ठूलो स्वरले कराएको सुनेपछि हातमा एउटा रेडियोजस्तो भाँडो लिएर एक्लै बोल्दै गरेको, हाकिमजस्तो देखिने अर्को बर्दिवाला त्यता आयो। “के भयो? यो बूढो को नि?” “यो बाँस यी बाजेको रे साप!” शुरुमा उनीसंग ठट्टा गर्नेले तिनिक्क तन्किएर बोल्यो। “पैसा नदिई लान दिन्न भन्छन्।“ “बाजे, यो बाँस सवारीमा लाने हो। पैसा नगरपालिकाले दिन्छ, पर्सि आइतवार गएर माग्नु, म भन्दिराखौँला।“ हाकिमजस्तोले बूढातिर हेरेर बोल्यो। “मुखका भरमै पैसा देलान् र हजुर----?“ बूढा बाँसको चाङबाट उठे। “दिन्छ दिन्छ, किन दिन्न? त्यो लेखेलाई म भन्दिउँला। यताउता सोध्यो भने विक्रम क्याप्टेन सा’पले भन्या भन्नु।“ बूढालाई यति भनेर हाकिम सिपाहीहरुलाई आदेश दिन थाल्यो। “----- ल बाँस उठाएर ले’ र हिँडो। ------।“ बूढाले हेर्दा हेर्दै रिकुटेहरुले एकैछिनमा बाँस ओसारेर सिध्याए। सिपाहीहरु सबै गईसकेपछि हेर्दा हेर्दै नाँगिएको आफ्नो बाँसघारी हेरेर बूढा धेरै बेर टोलाईरहे। ‘सवारी यहि बेला हुनु पर्नी! अनि मर्न नसकेका रिकुटेका आँखा पनि मेरै बाँसमा पर्नु पर्नी!’ तर आफ्नो निधारको पसिना आफ्नै टोपीले पुछेर घर फर्किनु बाहेक बूढासंग कुनै बिकल्प थिएन। भोलिपल्ट बिहानैबाट टुँडिखेलमा ठूलो रमझम शुरु भयो। दश बजेतिर हेलिकउटर आयो जिल्लै हल्लाउँला जस्तो गरेर र बेस्मारी धूलो उडाऊँदै। अनि बेलून पनि खुब उडाए। माईकको आवाज बूढाको घरसम्म पनि टड्कारै सुनिन्थ्यो। सवारीले टुँडिखेल माथिको बजार पनि घुमेको कुरा पनि बूढाले त्यै माईकबाट सुनेका हुन्।अरु बेला भए बूढा रमिता हेर्न भएपनि पुग्दा हुन्, तर पैसो हातमा नपरीकनै आफ्ना बाँस गायब भएकाले बूढाको मन ठेगानमा थिएन। बरु बूढीले त्यति पिर गरेकी थिईनन्।‘बाँस लानी राजा हुन्, राजाले लगेपछि पनि पैसा नपाउनी हुन्छ, पिर नगर बूढा।‘ भनेर बूढालाई सम्झाइरहन्थिन्। आईतवारबाट त आन्दोलन पो चर्कियो ए! दिन रात जूलूशै जूलूश! गोलीनै चलेर मान्छे मरेको खवर पनि आयो। नगरपालिकासम्म जाने आँटै गर्न सकेनन् बूढाले। आन्दोलन सकियो, तर नगरपालिकाको मेयर लेखराम कता भाग्यो कता। राजाको पालाँ निकै चुरीफुरी गरेर धेरै मान्छे थुनाएको थियो, अहिले डराएर भागेछ। मालपोतको हाकिम नगरपालिकाको नया हाकिम भएर आयो भन्ने सुनेपछि बूढा पैसा लिन धाउन थालेका हुन्। पाँचचोटि भयो आजसम्म, दिने नामै लिँदैनन्। बूढा ब्यारेक पनि पुगेका थिए एकचोटि, तर त्यो क्याप्टेनसंग भेट हुनै पाएन। पैसा मिलिहाल्छ कि भनेर बूढा जिविस पनि पुगे। आज पनि पहिला त्यता गएर आएका हुन्। जहिले गएपनि ताल्चा झुण्डेको मात्रै देखिने त्यहाँ त झन्! चियाको पैसा तिरेर बूढा गाऊँतिरको बाटो उकालो लागे। बाटोमा ब्यारेक पर्थ्यो। ब्यारेक अगाडि बूढी उनलाई कुरेर बसिरहेकी थिइन्। “क्या’र्न तँ याँ?” “तिनले पैसा दिँदैनन् भन्नी था’ थ्यो मलाई।“ बूढाले नभनेपनि उनको मलिनो अनुहारबाट बूढीले चाल पाईसकेकी थिईन्। “बरु हिँड एकबाजी फेरि ब्यारेकमा गएर त्यो क्याउटेन हो कि स्याउटेन के जातिलाई भेटौँ।“ बूढा-बूढी ब्यारेकको मूल ढोका तिर लागे। भित्र पस्न नपाईने रहेछ। एकछिन त्यतिकै अल्मलिएपछि त्यो बेलाँ बाँस काट्नेमध्येको एउटा सिपाहीलाई भित्र ढोकाको छेवैमा देखे उनले। “हजुर यता----, एउटा सानो बिन्ती थ्यो हजुर।“ “के हो? के भयो?” त्यो सिपाहीले आँखीझ्याल जस्तोमा आएर सोध्यो। “हजुरहरुले हाम्रो वाँस ल्याउनु भ’ थ्यो, पैसा कतैबाट पनि पाइएन। विक्रम क्याउटेन साप हुनुहुन्छ हजुर? क्याउटेन सापले-----“ “ए बाजे तिमी पो! क्याप्टेन साप त काठमाण्डु गइसक्नु भो, अब आउनुहुन्न।“ बूढाको बोली बीचैमा काटेर सिपाही बोल्यो। “हो र हजुर ----!?” बूढा बिलखबन्दमा परे। “हजुरहरुले भन्दे पनि हुन्थ्यो कि हजुर? हाम्रो त बिचल्लीनै-----“ “खोइ हाम्ले गरेर हुन्न बाजे।–“ भनेर सिपाही ब्यारेकभित्रतिर लाग्यो। “के को हुन्न? अर्काको बाँस ल्याए’सी पैसा तिर्नुपर्दैन?” बूढि रन्किन थालिन्। “अर्काको बाँस सिँत्तैमा त लाश पर्दा मात्तै लान्छन्। हे पर्भु, हे पर्मेस्सोरी, मेरा बाँस लगेर पैसा नतिर्नीको पनि लाश परोस्, भष्म खरानी होस्---“ बूढीले सरापेको ब्यारेकभित्र कसैले सुन्यो कि सुनेन, तर ब्यारेकको अघिल्तिरका चिया पसलमा बस्ने सबैले अचम्म मानेर हेर्न थाले। “नकरा, नकरा, हिँड। ---“ बूढीलाई तान्दै घरतिरको बाटो सोझ्याए बूढाले। “यसै भएन, उसै भएन, माउवादीलाई भन्नी हो कि क्या हो?” एकछिन पछि बूढा आफ्नै सूरमा बोले। “हुन्न हुन्न हुन्न!” बूढी च्याँठ्ठीइन्। “ती पनि उस्तै हुन्। फेरि औँला दिँदा डुडुल्कै निल्न खोज्छन् ती। लोकेको हाल हेर न वाँ, उठिबास लागो तीनका संगतले गर्दा।” “हो ठीक भनिस्। उल्टो सवारीमा बाँस दिने राजाको मान्छे हो भनेर खेदो गर्लान् भन्नी डर! काउरेस-झालेमालेलाई भने पनि उहि हो। मनको वह, कसैलाई नकह। पैसा के गर्नी त राजारामकी आमा?” “छोराहरुसंग मागौँ एकबाजी। म मर्छु नत्र भनेर माग्दा त देलान् नि अलि अलि।“ “के देलान् र? तैपनि भनौँ के रे एकबाजी। आमा होस् तँ। देनन् भने रिनै काटेर भएपनि जाउँला तेरो ओखती गर्न।“ बूढा-बूढी गन्थन गर्दै विस्तारै घरतिर लागे। *******************************************************************************
×
×
  • Create New...

Important Information

By using this site, you agree to our Terms of Use.